गाउँ मेरै थियो घर थिएन

एक त छ महिनापछि घर फर्कन पाको, त्यसमाथि भूकम्प ले क्ष्यतबिक्ष्यत बनाएको गाउँघर कस्तो भा होला भन्ने खुल्दुली पनि, काठमाडौँ बाट प्रस्थान गरेदेखिनै आँखा थकाई मार्न तयार भएनन्, झ्यालबाहिर चहारी नै रहे! राजमार्गक दुवै तर्फ भ्याएसम्म आँखा डुलाउदै थिए, धुलिखेल सम्म खासै ढलेभत्किएका घर देखिएनन् सायद राजमार्ग ओरिपरी कम क्ष्यति भएको थियो, कोटेश्वोर भक्तपुर सडकखण्डमा भने ठाउँ ठाउँ मा चिरा थिए र मर्मतका लागि सडक डाईभर्सन गरिएको थियो! धुलिखेल काटेपछी भने आँखा नरसाई रहन सकेनन! पाँचखाल नपुग्दै सैयौ घर क्ष्यतबिक्ष्यत देखिए, हुन त भूकम्प को घाउ आलो थिएन, तर मलाई नौलो भयो! बाँस र जस्ताका टहरा यत्रतत्र देखिन्थे, आँखाले भ्याएजति नस्ट प्रायः थियो! यात्रा जति अघि बढ्थ्यो उति मन आतिन्थ्यो! सोचें, “ अहिले त बल्ल काभ्रे पुग्दै छौ, अझ अगाडी सिन्धुपल्चोक र दोलखा ( जुन दोस्रो भूकम्पक केन्द्रबिन्दु थिए) को के हाल होला! धेरै हदसम्म मान्छेहरुले भूकम्पको चोट भुलिसकेको अवस्था थियो, तर म मा भने ठिक उल्टो! भूकम्प गएको निक्कै पछि घर गएर होला सायद, ति घर हिजै मात्र भत्केका लाग्दै थिए! दोलालघाट नपुग्दै करिब ४/५ ठाउँ मा ससाना पहिरो गएको देखे, सायद भुकम्पकै कारण!

दोलालघाट खाडीचौर सडकखण्डमा पर्ने घरका पनि हालत सायदै फरक थिए, सुनकोशी किनार मा ठडिएका ति घरका जग खोलाबाटै उठेका हुन्थे! धेरै कम मात्र ठाडा देखिन्थे बाकी माटोमै मिलेका! प्रकृतिले अनुपम सुन्दरता दिएर पनि प्रकृति बाटै ठगिने जिल्ला हो सिन्धुपाल्चोक! सुनकोशीलाई नै २४ घण्टा भन्दा बढी समय रोक्ने गरि पहिरो (जसमा करिब १०० भन्दा बढीको ज्यान गएको थियो) गएको २ वर्ष पुग्दानपुग्दै फेरी अर्को बज्रपात भोगिरहेथ्यो सिन्धुपाल्चोक! खाडीचौरका घर ठाडा देखिए पानी बस्न लायक थिएनन् सायद त्यसैले मान्छेको उपस्थिति अति न्युन थियो! कोदारी राजमार्गलाई देब्रे छोडेर बस सुनकोशी तरी उकालो लाग्न थाल्यो! यात्रा जति अगाडी बढ्दै थियो भूकम्प को अझ  क्रुर रुप प्रस्तुत हुदै थियो! खाडीचौर देखि मुढेसम्मको २७ किलोमिटर यात्रा मा सग्लो घर औलामा गनिने मात्र थिए, ति पनि घाउ चोट नलागेका थिएनन्, कतै न कतै भूकम्पको क्रुरता प्रदर्शित थियो!

भदौ नै भएपनि मुडे पुगेसी चिसो सिरेटो को स्वागत चाखियो, बस पनि केहीबेर रोकेकाले चिया नपिई ओरालो झर्न मन मानेन! किन किन यहाँ आइपुगेसी घरै पुगेझै लाग्छ! १० मिनेटको आराम पछि बस ओरालो लाग्यो, सिन्धुपाल्चोक लाई पछाडी छोडेर बस दोलखा को माटोमा गुढ्दै थियो! दोस्रो भूकम्पका अति प्रभाभित क्षेत्र मध्य दोलखा एक हो, दोस्रो पटकको केन्द्रबिन्दु दोलखा सिन्धुपाल्चोक सिमाना मा परेकाले यी दुई जिल्लाले ठुलो क्ष्यति व्यहोर्नुपर्यो! चरिकोट नपुगुन्जेल अथाह पिडा भैरह्यो, सडकछेउका कैयौ अस्थाई कटेरा त्यसै हेरिरहन सकिन! करिब एकघण्टा को यात्रा पछि चरिकोट उत्रें! अघिल्लो पटक चरिकोट छोड्दा यहिबाट बस चढेको थिए, संगैको प्रतिक्ष्यालयमा उभिएर बस कुरेको याद आयो, ठाउँ त्यहि थियो तर प्रतिक्ष्यालय थिएन, फगत भग्नावशेष! खुट्टा त्यसै गरुङ्गो भएर आयो!

साथमा एउटा सानो झोला मात्र भएकाले एकपटक बजार चक्कर लगाएर मात्र घर तिर झर्ने विचार गरें!

सुरुमै चरिघ्यांग तिर उकालो लागें, सबै सदरमुकाममा सबै भन्दा क्ष्यति सायद त्यहि भएको थियो! उकालो लाग्दै गएँ! होटेल संगम, होटेल गौरी होरिजोन्, होटेल सैलुंग भिलेज खुबै चल्तीका होटेल हुन्  चरिकोटका, तर कुनैको अस्तित्व बाकी थिएन! यी होटेलमा केहिले ज्यान पनि गुमाएका थिए! अझै उकालो लाग्दै गएँ, खुट्टा धर्मराए, काम्न थाले, ति बाटो हिडीसक्नु थिएन! प्रत्येक घर आफै माथि बज्रेलान जस्तो, मान्छेको अति न्युन उपस्थिति थियो, भूकम्पका सानातिना धक्का अझै महसुस हुदै थिए, सायद त्यसैले होला! मुटु  दरो गराएँ, अघि बढें! जति अघि बढ्थें उति स्थिति भयावह देख्दै गएँ, कैयन घर एकआर्कासंग टासिएका थिए, लिसो टासिएझैँ, जुको टासीएझैँ!  बजारभन्दा उचाइमा रहेकाले थुप्रै रेडियो स्टेशन को हब थियो चरिघ्यांग! घर त थिए तर स्टेशन देखिन, केहि भने चौरमै ससानो जस्ताको कटेरो बाटै प्रसारण गरिरहेका देखिन्थे! यहि लाइन को पल्लो छेउमा गुम्बा थियो, अहिले देखिन! आराम गर्न बनाईएका साना दुइ चौतारा भने यथावत थिए, त्यहि बसें र नजिकैको पसलबाट चिया मगाएं! निकैबेर त्यहि टोलाईरहे!

मेरो घर सदरमुकाम बाट करिब २० मिनेटको पैदल दुरीमा पर्छ! चिया पिईसकेपछि घर तिर झर्ने मन भयो! खुशी र पिडा बराबर थियो! लामोसाँगु जिरी सडकखण्डबाट गोरेटो बाटो ओरालो झरें! सडक छोडेदेखी नै सुरु हुन्छ मेरो गाउँ चिसापानी देउराली, घाम अस्ताउन तरखर गर्दै थियो, म ओरालो लागें! बाटा तिनै थिए, गाउँ मेरो थिएन! कुनै भयावह सपना देखेजस्तो अनुभूति हुदै थियो, आफ्नो घर बाट टाढा कतै घुम्न आएजस्तो! कुनै कोणबाट पनि मलाई मेरो गाउँ जस्तो लागेन, तर कहाँ लुक्थ्यो र यथार्थ? म मेरै गाउँ फर्केको थिएँ! अह मेरो गाउँ यस्तो पटक्कै थिएन, ढुंगामाटाका घरमा कतै जस्ता त कतै ढुंगा कै छाना छाईएका थिए, तर कतै त्यस्तो देखिएन! घर माटोमा मिलेका देखें, प्रत्येक भत्किएका घर नजिकै सानो टहरो थियो, गाईबस्तु तथा बाख्रापाठा बाध्ने गोठ पनि माटोमै मिलेका देखें! कठै.. कता बाध्या होलान ति बस्तु, परिवारै नअट्ने ति कटेरोमा के गरि अटेहोलन सबै! गोरेटोका दुबैपट्टी कुनै घर थिएनन्, देखिएका फाट्टफुट्ट घर पनि डरलाग्ने देखिन्थे! बाटै को पानीको धारो भने ढलेको रहेनछ, तर धेरै दिन देखि पानी नचुहेजस्तो भान भयो!

माथिबाटै तल आफ्नो घर रहेको ठाउँमा नजर गयो, आफ्ना दुवै घर आधा मात्र ठाडा थिए! अझ नजिक गएँ! पत्याउनै गाह्रो भयो आफु जन्मेको घर यहि हो भनेर, अझ नजिक गएँ! नापन्छाएको घर मा बर्खे घाँस उम्रेका रहेछन्! म बस्ने घरमा दुबो, कोदो, कुरो, मकै, आदि उम्रेका रहेछन्! सुनेको थिए नौ मुरी कोदो भुकम्पपश्चात उठाउन नसक्दा त्यहि पुरिएको थियो, अब पत्याउन करै लाग्यो! बाक्लो कोदोको बिऊ घरै माथि उम्रेको रहेछ! नजिकै गएर हेर्न मन भयो, भूकम्पले थिचेका खाट, दराज, टिभी, त्यहि थिए! अर्को घरै माथि चढेर एउटा पाठी घाँस चर्दै थियो, सोचें बाख्रापाठालाई त दशैँ नै आएछ, मान्छेलाई पो दशा आको! अर्को घर मा भने बिरालो थियो सायद मुसा खोज्दै थियो! बर्खे पानीले भिजेर काठ सबै मक्काएका र कुहिनै लागेका देखिन्थे, मूल ढोका उघारै रैछ, भित्र हेरें! पानीको दह थियो, भुइमा लेउ थियो, चकटी चुल्होमै थियो! पकाउने चुल्हो पनी दुरुस्तै रहेछ, बिचरा सधै बलेर रुखो भएको हुदो हो, अहिले आफुलाई चिस्याउदै छ, सायद फेरी पोलिनुपर्छ भनेर होला! कसैले भानिदेओ त्यसलाई अब उ जल्नुपर्दैन भनेर! खुसि हुदों हो सायद अब पोलिनुपर्दैन भनेर, मनुष्य हुदो हो त बुझ्दो हो उसको धर्म नै पोलिनु हो!

अस्थाई टहरो पुरानो घर भन्दा केहि मिटर तल थियो! घर ढुंगा माटाको मात्र कहाँ हुदो रहेछ र? जस्ता मात्रै बारेको भएपनि परै बाट राम्रो लाग्यो, आफ्नै लाग्यो! आमा मेरै बाटो हेर्दै थिइन्! देख्ने बितिकै भूकम्प गए पश्चात फोनमा भएको कुराकानी याद आयो, आँखा रसाए, ढाकछोप गरें! आमा त्यसै गदगद हुनुभो मलाई देखेर! पोलेको मकै र चिया खाएपछि अस्थाई घर अवलोकन गर्नथालें! चुल्होमै पानी जमेको देखेर सोधें! “ खै छोरा जति टाले पनि खै कता कता बाट छिरिहाल्छ!” आमाले भन्नुभयो! खुलाचौरमा टहरो हालेकाले भित्र भुइँ बरोबर थिएन! लितपोत गरेर टालटुल गरेपनि कतै ढुंगा निस्केका त कतै घाँस उम्रेका थिए! सुत्ने कोठा हेरें, हेर्दा राम्रै देखिन्थ्यो, तर भुइँमा किरा फट्यांग्रा देखिन्थे, खाटमुनी दुबोको जंगल नै रहेछ! साँझको खानपिन पछि सुत्ने तरखर गरें, थाकेकाले छिट्टै खाटमा ढल्न मन लाग्यो! सुताई पनि अनौठो भयो, निधाउन मात्र के आटेको थिएँ, पाखुरामा केहि हिडेजस्तो लाग्यो! अर्को हातले च्याप्प समाएँ, बत्ती थिएन, मोबाइल बालेर हेरें, कन्सुत्लो रहेछ! किचेर मारिदिएं, पुनः पल्टें! सानैदेखि कन्सुत्लो कानमा पस्यो भने मरिन्छ भन्ने सुनेको, निद्रा पटक्कै लागेन! ढिलोचाढो निदाएछु!

Published by

Bhuwan Adhikari

#Blogger #LiteratureFan #Travelling #Sports #MBA # JAINUniversity

Leave a comment